२४ वैशाख, काठमाडौं । सिधाकुरा डटकमले प्रकाशन गरेको अडियोमाथि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान सुरू गरेको छ ।
सिधाकुरा अनलाइन र युट्युब च्यानलले न्याय सम्पादनसँग सम्बन्धित विषयमा सम्प्रेषण गरेको अडियोमाथि अनुसन्धान गर्नू भन्ने सर्वोच्चले आदेश दिएपछि साइबर ब्यूरोले छानबिन अघि बढाएको हो ।
सीआईबीले साइबर ब्यूरोलाई पत्राचार गर्दै अडियोबारे अनुसन्धान गरेर रिपोर्ट पठाउने निर्देशन दिएको छ । सीआईबीको निर्देशनसँगै साइबर ब्यूरोले अडियोबारे अनुसन्धान अघि बढाएको हो ।
‘सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनू’ आदेशमा भनिएको छ, ‘सोको प्रतिवेदन सहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेस गर्नू भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।’
सिधाकुराले संवैधानिक इजलासमा रंगेहात घुससम्बन्धी मुद्दामा चलखेल गरेर फैसला भएको दाबी गरिएको सामग्री प्रकाशित गरेको थियो ।