Welcome To Chitra TV

एक सय रुपैयाँको नोटमा अबदेखि चुच्चे नक्सा राखिने

सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णय गरेको छ।

एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै, सरकारले ६ जना सचिवको सरूवा समेत गरेको छ।

राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव डा. गणेशप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, डा. गोविन्दप्रसाद शर्मा वन तथा वातावरण मन्त्रालयमा, डा. दीपककुमार खराल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा, डा. दीपक काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, डा.रेवतीरमण पौडेल कृषि विकासमा र राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको हो।

त्यसैगरी लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २१ जना अधिकृतलाई सम्बन्धित सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको सहसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।