तुलसीपुर, २१ श्रावन । आँखासम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिकाका विद्यालय एक हप्ताका लागि बन्द भएका छन् । आँखासम्बन्धी रोगका बिरामी बढ्दै जान थालेपछि गाउँपालिकाले एक सूचना निकालेर आज आइतवारदेखि साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो ।
सामुदायिक विद्यालयहरूमा भने यसअघि नै बर्खे बिदा गरिएको छ । बर्खे बिदापछि सामुदायिक विद्यालयहरू साउन २९ गतेदेखि सञ्चालन हुनेछन् । दाङसहित देशका धेरै ठाउँमा अहिले आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । डाक्टरले आँखामा कुनै समस्या देखिए अस्पताल जान र आफूखुशी जथाभाबी औषधि नहाल्न सुझाव दिँदै आएका छन् ।